९ महिनामा १ लाख वढि पर्यटक पुगे मुस्ताङ, ८२ प्रतिशत सार्क राष्ट्रका

काठमाडौँ– सन् २०२४ को जनवरीपछिको ९ महिनामा १ लाख ५ हजार ६९८ जना विदेश पर्यटक मुस्ताङ पुगेका छन्। ती मध्ये ९० हजार ८१ जना सार्क राष्ट्रका छन् भने १५ हजार ६१७ जना अन्य मुलुकका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय जोमसोम अन्तर्गत रहेको एक्याप चेकपोष्ट जोमसोमका अनुसार यो संख्या सन् २०२४ को जनवरीदेखि अक्टोबर ८ तारिखसम्मको हो। विदेशी पर्यटक संख्याको ८२.६६ प्रतिशत सार्क र १७ दशमलव ३३ प्रतिशत अन्य मुलुकका विदेशी पर्यटकले हिमाली जिल्ला मुस्ताङको भ्रमण गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए।

सन् २०२४ को मे महिनामा २९ हजार ७६२ जना र सबैभन्दा कम जनवरी महिनामा २ हजार १२६ जना विदेशी पर्यटकको मुस्ताङ आगमन रहेको एक्याप जोमसोम चेक पोष्टको तथ्यांकमा उल्लेख छ। सन् २०२४ को अक्टोबर ८ तारिखसम्म २ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरे।

सेप्टेम्बरको अन्तिमदेखि अक्टोबर ८ तारिखसम्म गतवर्षको तुलनामा निकै कम विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए। एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढी, पहिरो र नदी कटानले सडक अवरुद्ध भएकै कारण मुस्ताङमा विगतको वर्ष भन्दा कम विदेशी पर्यटक मुस्ताङ भित्रिएको उल्लेख गरे।

सन् २०२३ मा कुल १ लाख २१ हजार ३५२ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए। मुस्ताङ भित्रिने पर्यटकमध्ये अधिकांश सार्क राष्ट्रका भारतीय पर्यटक रहेको एक्याप जोमसोमका कार्यालय प्रमुख रेग्मीको भनाई छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ दर्शनप्रति भारतीय तीर्थालुको अभिरुचि बढी रहने भएकाले मुस्ताङमा भारतीय पर्यटकको आगमन अधिक रहन पुगेको उनले जनाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट