दशैं मनाउँने पश्चिम नेपालका थारुको अनौठो चलनः पितृलाई ‘रगतको धूप’, ३ दिन शोक
काठमाडौँ– दशैं नेपालीहरुको सवैभन्दा ठुलो चाड हो। तर, नेपालीहरुमै पनि दशैं मनाउने एउटै तरिका छैन। ठाउँ अनुसार दशैं मनाउने विभिन्न परम्परा छन्।
पश्चिम नेपालका थारूहरूले दशैंलाई ‘डस्या’ भन्छन्। यो पर्वमा आफ्ना कुलदेवता र पितृको सम्झना गर्ने चलन छ। आफ्ना पितृको आत्माले शान्ति पाऊन् भनेर सम्झना गर्ने पर्व डस्या हो। दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारू समुदायका लागि माघी र अट्वारीपछि दशैँ तेस्रो ठूलो पर्व हो।
थारू संस्कृतिका जानकार एवं साहित्यकार छविलाल कोपिलाका अनुसार यो समुदायभित्र रहेका फरक थर र गोत्र अनुसार कुलदेवता पनि भिन्नभिन्न छन्। कुल देवता अनुसार दशैँमा पूजा गर्ने चलन पनि फरक–फरक छ।
‘भगोरिया’ थरका थारुले देवतालाई दशैँमा जाँड चढाएर पूजा गर्ने चलन छ। यो समुदायले विशेषगरी फूलपातिदेखि नवमीसम्म तीन दिनमात्र दशैँ मनाउँछ। थारू संस्कृतिका अर्का जानकार एकराज चौधरीका अनुसार उक्त समुदायले आफ्ना कुलदेवतालाई पूजा गर्दा बजारमा पाइने अगरबत्ती बाल्दैनन्।
कुलदेवताको पूजा गर्दा आफ्नै पुरोहित, ‘देशबन्ध्या गुर्बा’ र ‘घरगुर्बा’ले बनाएको धूप प्रयोग गर्ने चलन गरहेको उनी बताउँछन्। थारू समुदायको बसोबास भएको गाउँमा स्थापित ‘भूइँह्यार थान’का मुख्य पुजारीलाई ‘देशबन्ध्या गुर्बा’ भन्ने गरिन्छ।
विभिन्न सातथरी फूलसहित ‘गुर्बा’ले आफ्नै शरीरका सात अङ्ग चिरेर निकालेको रगतमा मुछेर बनाइएको विशेष धूपले पूजा गर्ने चलन रहेको उनी बताउँछन्। दशैँमा आफ्ना देवता र पितृलाई आफ्नो शरीर चिरेर रगतसमेत चढाउँने गरिएको एकराज बताउँछन्।
त्यो धूप फूलपातीका दिन ‘घरगुर्बा’कहाँ गएर ल्याउने चलन छ। धूप लिन जाँदा कोसेली र भेटी लैजाने गरिन्छ। महाअष्टमीलाई थारूहरूले ‘ढिक्रह्वा’ भन्ने गर्छन्। त्यस दिन आफ्ना कुलदेवतालाई उक्त समुदायको मुख्य परिकार ढिक्रीले पूजा गरिने भएकाले ‘ढिक्रह्वा’ भनिएको उनको भनाइ छ।
महाअष्टमीको बेलुकीपख आफ्ना कुलदेवतालाई ढिक्री, बाबरीको फूल र जमराले पूजा गर्ने चलन यो समुदायमा छ। पूजा गर्ने बेला मादल पनि बजाइन्छ। मादलको धुनसँगै ढिक्री, जमरा र बाबरी फूलले कुलदेवताको पूजा गरेपछि जमरा लगाउन पाइन्छ।
अष्टमीको रात पछल्डङ्ग्या थरका थारूले आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने गर्छन्। अन्य थरका थारूले भने महानवमीको बिहान आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने थारू संस्कृतिका जानकार एवं ‘गुर्बा’ एकराज चौधरीले बताए।
थारू संस्कृतिका जानकार कोपिलाका अनुसार घटस्थापनाको दिन यो समुदायले जमरा राख्दैन। घटस्थापनालाई ‘मूलक दिन’ अर्थात् पुर्खाहरूले देह त्याग गरेको दिनका रूपमा लिइन्छ। भोलिपल्ट जमरा राखेपछि थारूहरूको दशैँ सुरु हुन्छ र महानवमीका दिन समाप्त हुन्छ।
घटस्थापनाको दिनदेखि नै कुल देवता तथा पितृलाई पूजा गर्ने व्यक्तिले शोकमा भएका बेलामा जस्तै दशैँ नसकिँदासम्म कपाल र नङ काट्न पाउँदैनन्। घटस्थापनाको दिनलाई जुठो सुरु भएको मानेर कुलदेवतालाई अष्टमीमा पूजा गर्नुअघि नुहाइ दिएर सुनपानीले चोख्याउने चलन रहेको छ।
त्यसले गर्दा थारू समुदायले दशैँलाई मृत्यु संस्कारसँग जोडेको मान्न सकिने कोपिलाको कथन छ। उनकाअनुसार काजक्रियामा ‘जिता मार्ने’ चलनअनुसार थारू समुदायले दशैँमा कुखुरा र सुँगुर पुज्ने चलन पनि छ।
दशैंमा थारु समुदायमा सेतो टीका लगाउने चलन पनि छ। त्यसपछि उनीहरूको दशैँ सकिन्छ। महानवमीमा बरघरसँग टीका लगाउने भएकाले त्यसलाई थारूहरूले ‘गवल्या’ अर्थात् ‘गाउँको टीका’ पनि भन्ने गरेको पाईन्छ।
बीबीसी नेपालीको सहयोगमा