सुख्खा पहिरोले अवरुद्ध भएको बीपी राजमार्ग फेरी सुचारु, एकतर्फी यातायात सञ्चालन
काठमाडौँ– अवरुद्ध भएको २ सातापछि सञ्चालनमा आएको केही समयपछि नै सुख्खा पहिरोका कारण रोकिएको बीपी राजमार्ग पुन सञ्चालमा आएको छ। काभ्रेको रोशी गाउँपालिका–११, पिप्लेमा खसेको पहिरो पन्साएर एकतर्फी यातायात सञ्चाल गरिएको हो।
पहिरो खसेर अवरुद्ध सडक केहीबेरअघि पन्छाएर सडक सुचारु गरेको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए। खसेको पहिरोलाई सडकबाट हटाइएको छ भने एकतर्फी रुपमा सवारी सुचारू गरिएको उनले बताए।
यसअघि सुक्खा पहिरो खसेर गाडी नै पुरिएपछि बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो। पहिरोमा खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमो पुरिएको थियो। उक्त सुमो निकाल्न गएको डोजर पनि पहिरोले पल्टाइदिएको थियो।
पहिरोले सिन्धुलीबाट काठमाडौं जाँदै गरेको बा. ४ ख ४३५२ नम्बरको बसलाई रोशी खोलामा धकेलेको थियो। दुवै घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।