दाजुलाई सघाउन जाँदा शिक्षक आचार्यको ज्यानै गयो, राँगाले हानेर मृत्यु
काठमाडौँ– पोखरामा राँगोको आक्रमणमा परेर एक जना शिक्षकको मृत्यु भएको छ। दाजुको फार्ममा सहयोग गर्न गएका वेला राँगाले हानेर पोखरा महानगरपालिका–३३ का शिक्षक धनञ्जय आचार्यको मृत्यु भएको हो।
गत मंगलबार फार्ममा रहेका राँगा–भैंसी चराउन लाने क्रममा शिक्षक आचार्यलाई राँगाले हानेको थियो। त्यसै बेला उनको मृत्यु भएको हो। उक्त फार्म उनका दाजु को हो। दाजु उनका जेठानको मृत्यु भएकाले अन्त्येष्टिका लागि गएका थिए।
स्याङ्जा प्रहरीका डिएसपी हरि पौडेलका अनुसार आचार्यलाई राँगाले लखेटेर आक्रमण गरेको खुलेको छ। उनको शव बुधबार मात्रै भेटिएको थियो। साँझसम्म भैंसी र राँगाहरु गोठ फर्किए पनि मान्छे नफर्किएकाले परिवारले कास्की प्रहरीलाई खबर गरेका थिए।
मंगलबार रातिसम्म खोजतलास गर्दासमेत नभेटिएपछि बुधबार उनको खोजी गरिएको थियो। कास्की र स्याङ्जाको सीमावर्ती क्षेत्र भएकाले गोठ कास्कीमा परे पनि चराउने ठाउँ स्याङ्जामा पर्छ। घटनास्थल स्याङ्जामा परेकाले मुचुल्का स्याङ्जा प्रहरीले बनाएको डीएसपी पौडेलले जानकारी दिए।
‘घटनास्थल हेर्दा आचार्य लडेको ठाउँमा निकै संघर्ष गरे जस्तो भेटियो। मृतकको दुई ठाउँमा सिङले उनिएको डोब छन्,’ डिएसपी पौडेलले भने। आचार्य पोखरा–३३ स्थित जनचेतना माविका शिक्षक हुन।