क्रसरले खनेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको घट्ना २८ लाख हेराफेरी गरेर मिलाईयो

विराटनगर– मोरङको केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीको क्रसर उद्योगको खाल्डोमा डुबेर नाबालक दाजुभाइको मृत्यु भएको घटना पैसा लेनदेनमा मिलाईएको छ। केराबारी गाउँपालिका–८ स्थित कृष्ण क्रसर उद्योगले खनेको खाल्डोमा डुबेर विहिबार २ नाबालकको मृत्यु भएको थियो।

क्रसरकै कामदार स्थानीय तोयानाथ चौलागाईंका छोराहरु ६ वर्षीय रामचरण र ८ वर्षीय भूपेन चौलागाईंको डुबेर मृत्यु भएको थियो। क्रसर उद्योग सञ्चालकको लापर्बाहीले नाबालकको ज्यान गएको भन्दै आफन्तले शव वुझन समेत मानेका थिएनन्।

तर, शुक्रबार केराबारी गाउँपालिका कार्यालयमा बसेको सर्वपक्षीय छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति दिएर घट्नालाई मिलाउने सहमति भएको जनाईएको छ। गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ, उपाध्यक्ष मनमाया मगरलगायतका जनप्रतिनिधि, पीडित परिवार र क्रसरका सन्चालक कार्कीसहितको छलफलले क्षतीपूर्ति दिएर मिलाउने सहमति भएको वडाध्यक्ष कमलकुमार बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार पीडित पक्षलाई किरिया खर्चबापत तत्काल १ लाख, क्षतिपूर्ति र राहत स्वरुप २५ लाख र मृतक बालकका नाममा २ लाखको अक्षयकोष स्थापना गरिदिने सञ्चालक कार्कीले कबोल गरेका छन्। जग्गा उपलब्ध गराए घर पनि बनाइदिने उनले प्रतिवद्धता जनाएका छन्। छलफलमा उक्त घटनाको विषयमा कतै उजुर नगर्न भनिएको एक सहभागीले बताए ।

स्थानीयका अनुसार तोयानाथ शारीरिक अपांगता भएका ब्यक्ति हुन। आर्थिक अवस्था नाजुक छ। अर्काले दिएको जग्गामा बसेका छन्। कानुनी उपचारमा जाँदासमेत लाग्ने खर्च धान्न सक्ने अवस्था छै्रन। त्यसैले उनले बाध्य भएर पैसामा मिल्ने कुरामा सहमति जनाएको रास्वपाका वडा सभापति दीपक बस्नेतले वताए।

सहमतिपछि मृतक नाबालकको शव बुझेर अभिभावकले अन्त्येष्टि गरेका छन्। तोयानाथकी अव एउटी छोरी छिन्।

दुई पक्षिय सहमतिका विषयमा गाउँपालिका अध्यक्ष मिरिङचिङ र पूर्वअध्यक्ष एवम् क्रशर उद्योग सञ्चालक कार्कीसँग वुझ्न खोज्दै दुवै जनाले फोन उठाएनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट