गाउँपालिकाका पूर्व अध्यक्षको क्रसरले खनेको खाल्डोको पानीमा डुबेर नाबालक दाजुभाईको मृत्यु

विराटनगर– मोरङमा क्रसर उद्योगले खनेको खाल्टोमा डुवेर एकै परिवारका २ नाबालकको ज्यान गएको छ। केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर १० र ६ वर्षका बालकको ज्यान गएको हो।

क्रसरको पानी जमेको खाल्डोमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरु १० वर्षीय भूपेन र ६ वर्षीय रामचरणको मृत्यु भएको हो। तोयानाथ क्रसरकै कामदार हुन। मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार दुवै बालक हराएको सूचनापछि खोजविन सुरु भएको थियो।

खोजतलासका क्रममा सुरुमा ६ वर्षीय रामचरणको शव फेला परेको थियो। पानीमा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो। त्यसपछि खोजी गर्ने क्रममा भूपेनको पनि त्यही खाल्टोमा शव फेला परेको हो।

रामचरणको शव प्रहरीले पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। भुपेनको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन्। क्रसरको चरम लापर्बाहीले घटना भएको आरोप लगाउँदै उनीहरुले घट्नाको छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।

स्थानीयका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो। त्यो खाल्डो नपुरेर त्यत्तिकै छाडेका कारण २ नाबालकले अकालमा ज्यान गएको स्थानीयले बताए। उनीहरुका अनुसार क्रसरमा केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीसहितको लगानी छ।

डीएसपी जोशीका अनुसार पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरुको बाहिर निस्कन नसक्दा मृत्यु भएको अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट