क्यानडासँग हारेपछि त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधि जित्ने नेपालको सम्भावना न्यून

काठमाडौँ – त्रिकोणात्मक टी–२० आई सिरिजमा शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ। किंग सिटीमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजय भोगेपछि उपाधि जित्ने नेपालको सम्भावना घटेको हो।

टस हारेर पहिलो ब्याटिङ गर्दै नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। क्यानडाका लागि साद बिन जाफर १८ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा रविन्द्रपाल सिंह २० रनमा नट आउट रहे। दीलप्रित बाजवा २५, नवनित धालिवाल १२, निकोलस किर्तोन २६ र हर्ष ठाकेर ११ रनमा आउट भए।

यता, नेपालका सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए भने ललित राजवंशीले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए।

त्यसअघि नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। जसका लागि अनिल साहले ३० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए भने आसिफ शेखले ३० बलमा ३ चौका र १ छक्कासहित ३० रन बनाए।

ओपनर आसिफ र अनिलले ९.१ ओभरमा ७० रनको साझेदारी गरे। हर्ष ठाकेरको बलमा ठूलो सट खेलेका अनिल अखिल कुमारबाट क्याच आउट भए। कुशल भुर्तेल १३, दीपेन्द्रसिंह ऐरी १२, रोहित पौडेल र कुशल मल्ल ४/४ रनमा आउट भए। गुल्सन झाले १६ बल खेलेर २ छक्कासहित २३ र करण केसी ८ रनमा नट आउट रहे।

क्यानडाका हर्ष ठाकेरले २ तथा प्रविन कुमार, डिलोन हेलिगर र साद बिन जाफरले नेपालको १/१ विकेट लिए।

पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ओमानलाई ३७ रन विजयी भएको छ। नेपालले अन्तिम खेल बुधबार राती ओमानसँग खेल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट