सीडीओलाई माटो तस्करसँग कमिशन खाएको आरोप लगाएपछि पूर्वमुख्यमन्त्री कार्की विवादमा
विराटनगर– मोरङका सीडीओ प्रेमप्रसाद भट्टराईलाई माटो तस्करसँग कमिशन खाएको आरोप लगाएपछि कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कांगेसका नेता केदार कार्की विवादमा परेका छन्। कार्कीले भट्टराईलाई फोन गरेर माटो काट्ने तस्करसँग कमिशन खाएको आरोप लगाएको भीडीओ सामाजिक सञ्जालमै सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन।
विराटनगर महानगरपालिका–१२, सम्पन्न वस्तीमा शनिवार केसलिया खोलको बाँध फुटेर वाढी वस्तीमा पुगेपछि पुगेका कार्कीले त्यहीँबाट फोन गरेर भट्टराईलाई ‘माटोमा कमिसन खाएको र बस्तीमा बाढी पस्दा चैं नआएको’ आरोप लगाएका छन्।
कांग्रेसका प्रदेशसभा सदस्यसमेत रहेका कार्कीले सीडीओलाई नै कमिसन खाएको आरोप लगाएपछि उनी विवादमा तानिएका हुन। टेलिफोन संवादका क्रममा उनी अस्वभाविक र हेपाहा शैलीमा प्रस्तुत भएको भिडियोमा देख्न सकिन्छ।
सीडीओ भट्टराईसँगको सम्वादमा उनले भनेका छन्–‘यहाँ नाउ पनि आएको छैन। नाउको नाम लिएर आउने मान्छे पनि छैन। नगर प्रहरीको इन्स्पेक्टर साब र म छु। यहाँ कम्तीमा पनि अस्थायी बाँध बाँधियो भने यहाँका घरहरू बच्छ। बाँध फुटेको छ। खाली तपाईंहरूको काम भनेको बस्ती, खोला छेउको माटो काट्नेसँग पैसा लिने मात्र भयो। उनीहरूलाई कारबाही गर्नु भएन। यो अवस्था निम्त्याउने तपाईंहरू नै हो। अरु कुरा होइन। मैले पटक–पटक तपाईंहरुलाई खबर गर्दा पनि मान्छे पक्रिने भन्दा, माटो काट्ने मान्छे रोक्ने भन्दा, एस्काभेटर लगेर खोलाको छेउमा माटो काट्दा पनि तपाईंले रोक्नु भएन। त्योसँग कमिसन खानुभयो। आज यो बाढीमा ल्याएको मान्छेको जिम्मेवारी चाहिँ तपाईंले लिनुपर्छ। अहिलेसम्म नआउने?’
कार्कीले यति वोलिसकेपछि सीडीओले केही भने÷नभनेको स्पष्ट सुनिएको छैन। यो भीडीओ सार्वजनिक भएपछि उनीमाथि अप्रमाणिण्त आरोप लगाएको भन्दै धेरैले टीकाटिप्पणी गरेका छन्। कार्की निषेधित क्षेत्रमा अनसन वस्दा प्रशासनले हटाएको आक्रोश सीडीओसँग अहिले पोखेको धेरैको वुझाई छ।
सीडीओ भट्टराई भने आफूले माटो काट्नेसँग कमिसन नलिएको र कमिसन खाएको कुनै प्रमाण भए कारबाही भोग्न तयार रहेको बताउँछन्। ‘उहाँ (कार्की) मसँग किन आक्रोसित हुनु भयो भनेर बुझ्न सकेको छैन। पूर्वमुख्यमन्त्रीजस्तो मान्छेले अनुत्तरदायी आरोप लगाउनु ठीक हैन।’– उनले भनेका छन्।