अन्तर्राष्ट्रिय कन्फ्रेन्समा भाग लिन आउँदै गरेका जुम्ल्याहा दाजुवहिनी आमासहित झ्याप्ले खोलामा अस्ताए

काठमाडौँ– नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा १७ असोजमा हुने अन्तर्राष्ट्रिय कन्फ्रेन्समा भाग लिन बुटबलबाट काठमाडौँ आउँदै गरेका १५ वर्षका जुम्ल्याहा दाजुवहिनी र उनकी आमाको झ्याप्ले खोलाको पहिरोमा परी मृत्यु भएको छ।

बुटवलस्थित कालिका मानवज्ञान माविका ‘टपर’ मध्येका जुम्ल्याहा दीपेश र दीपिका तथा उनकी आमा ४० वर्षीया सीता भट्टराईको पहिरोमा ज्यान भएको पुष्टि भईसकेको छ। उनीहरू शुक्रबार बुटवलको चौराहाबाट लु १ ज ४५७८ नम्बरको माइक्रो बस चढेर काठमाडौँका लागि निस्किएका थिए।

आफैंले अनलाइन फारम भरेर दाजुबहिनी नै अन्तर्राष्ट्रिय स्तरको ‘कन्फ्रेन्स’ (नेसनल एस्ट्रोनोमी ओलम्पियार– २०२४) मा सहभाागि हुन आउँदै थिए। कक्षा १० मा अध्ययनरत उनीहरू आउँदो एसईई परीक्षाको तयारीमा थिए। योसँगै एस्ट्रोनोमिकल सोसाइटीको पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश जाने सपना बोकेर काठमाडौँ जाँदै गरेका उनीहरुको सपना आधाबाटो मै विलाएको छ।

बंगलादेशमा आयोजना हुने ‘कन्फ्रेन्स’मा ३२ देशका विद्यार्थी सहभागी हुने बताइएको छ। दुवै जनाले कन्फ्रेन्समा सहभागि हुने योजना बनाएपछि विद्यालयले पनि साथ दिएको थियो। त्यसपछि माईक्रो चढेका उनीहरुसहित १४ जनाको पहिरोमा परी ज्यान गएको छ।

पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको सनाखत भइसकेको छ भने दीपिकाको शव पहिचान हुन बाँकी छ। स्याङ्जाको गल्याङ नगरपालिका–३ स्थायी घर भएका उनीहरु बुटवल उपमहानगरपालिकास्थित योगीकुटीमा बस्दै आएको थिए।

विद्यालयका प्राचार्य दिनेश थापाका अनुसार दीपेश–दीपिका आउँदो एसईई परीक्षामा ४ जीपीए ल्याउने अपेक्षा गरिएको थियो। उनीहरु कक्षा ४ देखि यो विद्यालयमा अध्ययनरत छन्। उनीहरूका दाइदिदी पनि यहीँबाट ‘पास आउट’ भएको थापाले बताए।

दीपेश–दीपिकाका बुवा होमनाथ भट्टराई विगत ५ वर्षदेखि दक्षिण कोरियामा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट