जीबी राई र उनका आफन्तले सहकारीको साढे २ अर्ब वचत अपचलन गरेको पुष्टि

काठमाण्डौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका ब्यवसायीक पार्टनर जीबी राई (गितेन्द्रबाबु राई) र उनका आफन्तको नाममा सहकारीको २ अर्ब ५८ करोड रुपैयाँ अपलन भएको खुलेको छ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रचलित सहकारी कानुन विपरीत विभिन्न सहकारी संस्थाबाट ऋण तथा पेश्की गरी जम्मा २ अर्ब ५८ करोड रुपैयाँ बराबरको रकम गोर्खा मिडिया नेटवर्क प्रालि लगायतका कम्पनीमा पठाइ अपचलन गरेको उल्लेख गरेको छ।

एमाले सांसद सूर्य थापाको संयोजकत्वमा गठित समितिले तयार गरेको प्रतिवेदनमा उक्त रकममध्ये ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएको उल्लेख छ।

त्यो रकम मध्ये २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको समितिले जनाएको छ। यस्तै, ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाइ रकम गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

गोर्खा मिडियाामा जम्मा भएको रकममध्ये १२ करोड गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर पुँजीबापत जम्मा गरिएको, ८ करोड २० लाख ९१ हजार ६४३ रुपैयाँ जीबी राई स्वयंले प्रयोग गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

पछि रवि लामिछानेसमेतले गोर्खा मिडिया छोडेपछि गोर्खा मिडियाको सञ्चालकको रूपमा भित्रिएको जीबी ग्रुप अफ कम्पनीजले ३० असार ०७९ मा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड ऋण लिइ गोर्खा मिडिया नेटवर्क प्रालिलाई ३१ असारमा २० लाखको ऋण प्रवाह गरेको प्रतिवेदनमा जनाईएको छ।

विशेष छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभाले आफ्नो वेबसाइट मार्फत् सार्वजनिक गरेको छ। समितिको उक्त प्रतिवेदन यसअघि नै सरकारलाई पठाइसकिएको छ। प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको छ।

सहकारी छानबिन समितिको पूर्ण प्रतिवेदन पढ्न यहाँ क्लिक गर्नुहोस।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट