खनारमा २४ वर्षीया युवतीको मृत्यु प्रकरणः किरिया बसे श्रीमान, भाउजु पक्राउ

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका–१३, खनारकी २४ वर्षीया मेनुका दाहालको हत्या आशंकामा अनुशन्धानका लागि प्रहरीले उनकी जेठानी (इश्वरकी भाउजू) गीतालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय इटहरीले विहिबार मेनुकाको माईतीले दिएको उजुरी दर्ता गरी गीतालाई पक्राउ गरेको हो। मेनुकाको गत शुक्रबार शङ्कास्पद मृत्यु भएको थियो। उनको परिवारले मेनुकाले झुन्डिएर आत्महत्या गरेको दाबी गर्दै आएको छ। तर, माइती पक्ष भने हत्या भएको दाबी गर्दै निस्पक्ष छानविनको माग गरिरहेको छ।

मेनुकालाई लामो समयदेखि शारीरिक तथा मानसिक यातना दिईएको, आत्महत्या गरेको भनिएपनि घट्नाको झण्डै १२ घण्टापछि मात्रै प्रहरीलाई जानकारी गराईएको र प्रमाण नष्ट गर्ने षडयन्त्र भएको देखिएकाले मेनुकाको हत्या नै भएको उनीहरु दावी गर्छन।

पारिवारिक स्रोतका अनुसार झापाकी मेनुका र खनारका ईश्वर बरालबीच ६ वर्षअघि विवाह भएको थियो। इश्वरले विवाहको केही समयपछि देखि नै मेनुकालाई शारीरिक तथा मानसिक यातना दिन थालेका थिए। गर्भवती भएका वेलासमेत ईश्वरले कुटपिट गरेको उनीहरुको आरोप छ। इश्वर र मेनुकाका ५ र ३ वर्षका दुई छोरी छन्।

यसैक्रममा गत महिना (तीजमा) मेनुका माइती गएकी थिईन। त्यहाँ उनकी कान्छी छोरी लडेर टाउकोमा चोट लागेको विषयमा पनि इश्वरले मेनुकालाई कुटपिट गरेको खुलेको छ। त्यस विषयमा सोधपुछ गर्दा ‘ठूलो कुरा गरेकाले पड्काइ दिएँ’ भन्दै उनले जवाफ दिएका थिए।

यो घट्नापछि मेनुका दमकस्थित दिदीको घरमा पुगेकी थिईन। त्यहाँ उनले आफुमाथि भएको कुटपिट र यातनाका विषयमा सुनाईन। यो सवै प्रकरण थाहा पाएपछि इश्वरले मेनुकालाई फकाएर घर बोलाएका थिए। शुक्रबार साँझ मात्रै उनी घर आएकी थिईन। घर आएकै दिन पनि इश्वरले मेनुकालाई यातना दिएको खुलेको छ। सोही राती करिव १२ बजे मेनुकाका परिवारले ‘तिमीहरूकी छोरीले बुद्धि बिगारेर मरी, आओ, मिलापत्र गरौँ’ भन्दै फोन गरेको माईती पक्षले बताएका छन्।

झापाबाट इटहरी आएर सोधपुछ गर्दा समेत ईश्वरले मन नलागी–नलागी ‘झुन्डिएर मरेको’ भन्दै जवाफ दिएका थिए। यती मात्र होईन, उनले छोरीहरुसँग कसैलाई भेटघाट गर्न समेत नदिएको पाईएको छ।

के भन्छ मेनुकाको घर परिवार ?
परिवारको भनाई अनुसार मेनुकाले अचानक इश्वर र उनकी भाउजू भएको कोठामा बाहिरबाट चुकुल लगाएर बरन्डामै पासो लगाएर झुन्डिएकी थिईन। पछि देवर–भाउजू नै मिलेर डोरी काटेर उपचारका लागि विराटनगर स्थित कोशी अस्पताल पुर्‍याएको उनीहरुको भनाई छ। ‘अलिअलि धुकधुकी थियो, पुग्नासाथ मरी। अनि हामीले सबैलाई खबर गर्यौँ’– इश्वरले भनेका छन्।

माईती पक्ष र छरछिमेकीहरुले भने इश्वर र उनकी भाउजूको सम्वन्धमा नै आशंका गर्दै सुनियोजित रुपमा हत्या गरेको हुन सक्ने आशंका गरेका छन्। जानकारी अनुसार गीताका श्रीमान् वैदेशिक रोजगारीमा गएका छन्। यही मौका पारेर देवर–भाउजूले चलखेल गरेको हुनसक्ने आफन्तले बताएका छन्।

प्रहरीमाथि नै माईतीको आशंका
घट्नाको एक साता पुग्न लाग्दा समेत प्रहरीले अनुशन्धानलाई वेवास्ता गरेको माईती पक्षको आरोप छ। प्रहरीको ढिलासुस्तीले मेनुकाले आत्महत्या नै गरेको पुष्टि गराउन बल पुर्‍याई रहेको उनीहरुले गुनासो गरेका छन्।

घट्ना भएको ३/४ दिनसम्म मुचुल्का नउठाउनु, माइतीसँग सहमति नलिई शव बुझाएर दाहसंस्कार गर्न दिनु र अनुशन्धानमा वेवास्ता गर्नुले प्रहरीको भूमिका समेत शंकास्पद देखिएको उनीहरु वताउँछन्।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीले भने पोस्टमार्टम रिपोर्ट नआएकाले हत्या भएको हो भन्न नमिल्ने बताए। जाहेरी दर्ता हुन पनि पोष्टमार्टम रिपोर्ट आउनु पर्ने उनले बताए। घट्ना अनुशन्धानका लागि मृतककी जेठानीलाई पक्राउ गरिएको र उनका श्रीमान काजकिरियामा रहेकाले नियन्त्रण नगरिएको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट