रवि लामिछाने सहकारी ठगीमा संलग्न भएको प्रतिवेदन तयार: यस्ता छन छानविन समितिले खोजेका प्रमाण

काठमाण्डौं– सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको निस्कर्षसहितको प्रतिवेदन तयार पारेको छ।

नेकपा एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिस गर्ने प्रतिवेदन तयार पारेको हो। समितिका एक सदस्यले ‘प्रमाणका आधारमा लामिछानेसहित ९ जनालाई दोषी ठहर गरी थप कारबाहीका लागि सरकारलाई लेखी पठाउन सहमति भएको’ बताएका छन्।

प्रतिवेदनमा आज सवै सदस्यले हस्ताक्षर गरेर संसद्मा बुझाउने तयारी छ। समितिका एक सदस्यका अनुसार विभिन्न सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी दोषी देखिएका हुन। गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको छ।

गोरखा मिडियामा सहकारीमार्फत पैसा ल्याउने प्रक्रियाको जिम्मा जीवी राईले गरेको पाइएको छ। रवि कार्यरत रहेको १४ महिनाको समयमै गोरखा मिडियामा ६५ करोड खर्च भएको देखिएको छ। जसमा रविको हस्ताक्षर छ। रवि, जीवी र छवि समेतले गैरकानुनी ढंगले सेयर लिएको, पैसा जम्मा गरेको र भौचर समेत बुझाएको देखिएको समितिको निस्कर्ष छ।

प्रबन्ध निर्देशक लामिछानेले सहकारीको बचत कम्पनीमा सारेर आफ्नो लगानीका रूपमा देखाई ५ वैशाख ०७७ मा कम्पनी रजिस्ट्रार कार्यालयबाट सेयर कायम गराएका थिए। लामिछानेले कम्पनी रजिस्ट्रार कार्यालयमा हस्ताक्षर र औंठा छापसहित बुझाएको कागजमा समेत आफूले १५ प्रतिशत सेयरका लागि कम्पनीमा रकम बुझाएको उल्लेख छ।

कम्पनीको तलब खुवाउन लामिछानेले हस्ताक्षर गरेर साटिएको रकम पनि सहकारीबाटै आएको ती सदस्यले बताए। कम्पनीको लगानी, ऋण र सम्पत्तिसहितको लेखापरीक्षण प्रतिवेदनमा पनि अध्यक्षको ठाउँमा गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशकका रूपमा रवि लामिछानेको हस्ताक्षर गरेका छन्।

जीबी अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीका करिब ५० हजार सर्वसाधारणले बचत गरेको कम्तीमा ९५ करोड ८१ लाख रुपैयाँ सारिएको थियो। त्यसमध्ये लामिछाने प्रबन्ध निर्देशक भएको अवधिमा मात्रै ८० करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको उपलब्ध दस्ताबेजहरूमा देखिएको थियो। तर, समितिले त्यो भन्दा पनि बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको तथ्य फेला पारेको छ।

सञ्चारमाध्यम र छानबिन समितिमा ९ घण्टा बयान दिँदा भने लामिछानेले गोर्खा मिडियाको लगानी, आम्दानी र खर्चबारे आफूलाई केही थाहा नभएको दाबी गर्दै आएका थिए। तर छानविनपछि सहकारी ठगीमा रवि लामिछानेको संलग्नता देखिएको कुरामा समितिका सम्पूर्ण सदस्य सहमत देखिएका छन्। सुरुमा संसदीय समितिका सदस्य तथा रास्वपा सांसद शिशिर खनाल र माओवादी सांसद लेखनाथ दाहालले लामिछानेको नाम किटान नगर्न अडान लिएका थिए। तर, दस्ताबेज र प्रमाणको सिलसिला लेख्दै जाँदा निष्कर्षमा उनीहरू पनि सहमत भएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट