मितेरीमा धनराजको अन्य कारोबार पनि शंकास्पद, कस्ले जम्मा गर्दियो सवा ७७ लाख ?

काठमाण्डौ– ललितपुरको महालक्ष्मी नगरपालिका–५, महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको १४ करोड ८१ लाख रूपैयाँ अपचलन गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले त्यसवाहेक पनि सहकारीबाट १ करोडभन्दा वढि ऋण लिएको र पदको दुरुपयोग गरी गैरकानुनी रुपमा आर्जन गरेको रकमले ऋणको केही अंश चुक्ता गरेको आशंका उत्पन्न भएको छ।

ऋणको केही रकम चुक्ता गरेको देखिएको पनि त्यो रकम शंकास्पद देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरो (सीआईबी) ले जनाएको छ। सीआईबी स्रोतका अनुसार ऋण बापतको ६८ लाख २६ हजार ९१४ रुपैयाँ एकैदिन जम्मा भएको छ। १७ वैशाख २०८१ मा जम्मा भएको यो रकम एकै ब्यक्तिको तर फरक–फरक ५ वटा चेकमार्फत जम्मा भएको छ।

१४ लाख रुपैयाँका दरले ४ वटा चेकबाट ५६ लाख र एउटा चेकमा १२ लाख २६ हजार ९१४ रुपैयाँ रकम जम्मा भएको देखिएको छ। तिरेको रकम उनको वैंक खाता वा उनले तिरेको नभई अन्य ब्यक्ति (सीआईबीले नाम खुलाएको छैन) को वैंक खाताबाट जम्मा भएको देखिएको छ। यसरी एउटै ब्यक्तिले ५ वटा चेक प्रयोग गरी एकै दिन यसरी रकम जम्मा गरेको पाईएपछि त्यो रकम समेत उनले गैरकानुनी रुपमा जम्मा गर्न लगाएको हुन सक्ने आशंका छ।

त्यसपछि ६ जेठ २०८१ मा पनि धनराजको नामबाट अरु कसैले ८ लाख ८९ हजार ७२० रुपैयाँ मितेरीको खातामा जम्मा गरेको देखिएको छ। स्रोतका अनुसार धनराजले कहिलै पनि आफ्नै चेक मार्फत कारोवार गरेका छैनन। कर्जा चुक्ता र खातामा राखिएको रकम अरु नै ब्यक्तिको चेकबाट जम्मा भएको पाईएको छ।

गुरुङले भने आफुले घर बेचेर सहकारीको ऋण तिरेको दाबी गरेका छन्। घर किन्ने ब्यक्तिले नै कर्जा बापतको रकम जम्मा गरेको वताएका गुरुङले ती ब्यक्तिले किन पटक–पटक गरेर जम्मा गरे भन्ने आफुलाई जानकारी नभएको जिकिर गरे।

गुरुङले बताएअनुसार उनले सुरुमा १ करोड ऋण लिएका थिए। त्यसपछि पनि आवश्यकताअनुसार ऋण थप गरेको र यकिन याद नभएको वताएका छन्। सामाजिक सञ्जालमै सार्वजनिक भएको एउटा कागजमा धनराजले हकवाल भनेर श्रीमती ज्योती गुरुङको नाम राखेका छन्। त्यो कागज ३ फागुन ०७७ मा गरिएको छ। जवकी उनले ज्योतीसँग २९ फागुन २०७६ मै डिभोर्स गरेको बताउँदै आएका छन्।

यसरी उनका हरेक कारोबार (७७ लाख, १६ हजार, ६३४) शंकास्पद देखिएपछि सीआईबीले उनीसहित सहकारीको रकम हिनामिना प्रकरणमा अनुशन्धान गरिरहेको छ। यद्यपी गुरुङ विरुद्ध सीआईबीमा उजुरी भने परेको छैन। सहकारी रजिष्ट्रारको कार्यालय हेटौडाबाट आएको पत्रका आधारमा अनुसन्धान भईरहेको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए।

सहकारी रजिष्ट्रारको कार्यालयले महाप्रबन्धक ज्योति गुरुङ र पूर्वकर्मचारीहरु ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध जाहेरी दिएको छ। सहकारीले ‘आन्तरिक छानबिनले रकम अपचलनमा धनराजको पनि संलग्नता देखिएको’ भन्दै उनलाई पनि प्रतिवादी बनाउन माग गरेको थियो।

तर रजिष्ट्रार कार्यालयले धनराजको नाम काटेर बाँकीको नाम सीआईबीमा पठाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट