सहकारी पीडितको कालो झण्डा छिचोल्न नसकेपछि रवि लामिछानेलाई प्रहरीको सुरक्षा

काठमाण्डौं– सुशासनको नारा र पुराना दलका नेतालाई गाली गरेर छिट्टै राजनीतिमा स्थापित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरामा सहकारी पीडितले कालो झण्डा देखाएका छन्।

पोखरा महानगरपालिका– १७ बिरौटाको ग्यालेक्सी ब्यांक्वेटबाहिर सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित बचतकर्ताले लामिछानेविरुद्ध नाराबाजिसहित विरोध प्रदर्शन गर्दै कालो झण्डा देखाएका हुन्।

लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका हुन। पीडित बचतकर्ताले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण,’ ‘प्रहरी प्रशासनको दुरुपयोग बन्द गर’ जस्ता नारा लगाएका छन्।

प्रदर्शनका कारण रवि लामिछानेलाई सुरक्षा दिएर कार्यक्रम हलमा पु-याइएको छ। उनीहरुले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन्। प्रदर्शनकारीले सहकारी पीडितलाई दबाउन प्रहरी परिचलन गरिएको भन्दै नाराबाजी गरेका छन्।

सूर्यदर्शन सहकारीका पीडित बचतकर्ताले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई गत २३ जेठमा नेकपा (माओवादी केन्द्र) गण्डकीले पोखरा सभागृहमा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षणमा पुगेका बेला कालो झण्डा देखाएका थिए।

सूर्यदर्शन सहकारी प्रकरणमा हालसम्म ४४ जनालाई प्रतिवादी बनाइएको छ। हालसम्म छ जनामात्रै पक्राउ परेका छन्। ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालकसमेत रहेका सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु(जीबी) राई, उनका दाइ भूपेन्द्र राई, हालका अध्यक्ष तथा व्यवस्थापकसमेत रहेका थानबहादुर बुढामगरलगायत ३८ जना फरार सूचीमा छन्।

पोखरा महानगरपालिकाले वित्तीय विश्लेषणसहित तयार पारेको ३ हजार ४१९ पृष्ठको लामो प्रतिवेदन प्रतिवेदनमा १८ हजार ७ सय बचतकर्ताको बचत अपचलन भएको खुलाइएको छ। सहकारीको ऋणी संख्या ४३३ रहेको उल्लेख छ।

१ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९८ रुपैयाँ सहकारीमा बचत हिनामिन भएको प्रतिवेदनममा उल्लेख गरिएको छ। प्रतिवेदन अध्ययनकै क्रममा रहेको प्रहरीले जनाएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार बिगो दाबी गर्दै जिल्ला अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ।

गत वर्षको साउनदेखि बचतकर्ताको रकम फिर्ता हुन छाडेपछि सञ्चालकविरुद्ध प्रहरीमा जाहेरी परेको हो। २२ साउन ०८० मा सहकारीपीडित जाहेरी दिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट