गठ्ठाघरमा ट्रकको ठक्करबाट मारिने महिला नभई पुरुष भएको पुष्टी
काठमाण्डौं– भक्तपुरको गट्ठाघरमा बिहीबार दिउँसो करिव साढे १ बजे भएको सवारी दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला नभएर पुरुष भएको खुलेको छ।
यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर दुर्घटनामा ज्यान गुमाउने आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले सुरुमा त्यही विवरण सार्वजनिक गरेको थियो। तर उनले गलत जानकारी दिएको खुलेपछि प्रहरीले सनाखतको लागि थप प्रयास गरेको थियो।
आफ्नो मृत्यु भएको समाचार थाहा पाएपछि ती युवती आफैं प्रहरीको सम्पर्कमा पुगेकी थिईन। तर, मृतक झण्डै ४०÷४५ वर्षको पुरुष भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनको सनाखत भने हुन सकेको छैन।
परिसरका डीएसपी राजन कार्कीले स्कुटर चालक महिला नभएर पुरुष भएको पुष्टि भएको बताए। शव क्षतविक्षत भएकाले दुर्घटनामा ज्यान गुमाउने व्यक्ति महिला हो कि पुरुष हो यकिन गर्नै प्रहरीलाई हम्मे परेको हो।
बिहीबार दिउँसो गट्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो। स्कुटरलाई ठक्कर दिने ट्रक चालक भने सर्लाही मलंगवा नगरपालिका २ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ रहेको खुलेको छ। उनी आफैँ प्रहरी कार्यालयमा पुगेपछि प्रहरीले उनलाई नियन्त्रणमा राखेको छ।