सहकारी ठगी प्रकरणमा छानविन समितिले पूर्वराजा ज्ञानेन्द्रका ज्वाईँसँग पनि बयान लियो
काठमाण्डौं– सहकारी संस्थाको बचत हिनामिना र दुरुपयोगबारे छानबनिका लागि गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाईँ राजबहादुर सिंहसँग बयान लिएको छ। राजबहादुर सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक हुन।
देशभरका विभिन्न २९ वटा सहकारीका विषयमा छानविन गर्न गठित नेकपा एमालेका सांसद सूर्य थापा (सूर्यबहादुर थापा) सभापतित्वको समितिले सिंहसँग सिंहदरबारमा बयान लिएको हो। उनी केही समयअघि मात्रै उक्त सहकारी संस्थामा लगानीकर्ता (सेयर सदस्य) का रुपमा आवद्ध भएका हुन्।
समस्याग्रस्त सहकारीका सञ्चालकहरूसँगको बयानको क्रममा समितिले बोलाएपछि पुगेका सिंहले निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था सुरु गरी विश्वासको वातावरण बनाउन लागेको बताएका छन्। उनले सहकारी संस्थालाई पुनःसञ्चालन गर्ने योजनासहित नयाँ सञ्चालक समूह भित्रिएको पनि जानकारी दिए।
समिति सदस्यहरूले आइतबार मात्रै त्यही संस्थाका पूर्वअध्यक्ष हेमराज दाहाल, वर्तमान अध्यक्ष कृष्णप्रसाद कँडेल र सञ्चालक वीदेन्द्र महर्जनसँग पनि बयान लिएका थिए। बयानका लागि सिंहदबरार पुगेका दाहाल, कँडेल, महर्जनसहितले संस्थापक अध्यक्ष भरत महर्जन बचतकर्ताको रकम हिनामिना गरेर बेलायततिर भागेकाले समस्या देखिएको बताएका थिए।
ललितपुरको पुल्चोकमा कार्यालय रहेको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड ०५७ सालबाट सञ्चालमा आएको हो। यसका सञ्चालक रहेका भरत महर्जन, उनकी श्रीमती राजमाया महर्जन, छोरा सचिन महर्जन र छोरी सरला महर्जन हाल भागेर बेलायतमा लुकेको समितिले जनाएको छ। महर्जनसहितले १० अर्ब बढी बचत हिनामिना गरेर निजी कम्पनीहरू खडा गरेको खुलेको छ।
सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गत जेठ १५ गते नेकपा एमालेका सांसद थापाको सभापतित्वमा गठित संसदीय समितिले गत शुक्रबारदेखि बयान लिन थालेको थियो। शुक्रबार गौतम श्री बहुउद्देश्य सहकारी संस्था लिमिटेड, लालीगुराँस बहुउद्देश्य सहकारी संस्था लिमिटेड र गोरखा बचत सहकारी संस्थासँग जोडिएका विभिन्न व्यक्तिहरूको बयान लिइएको थियो। समितिले जेलमा भएका व्यक्तिहरूसँग पनि बयान लिएको छ। काठमाडौं र कास्कीसहितका जेलमा सहकारी ठगीमा संलग्नहरू सजाय काटिरहेका छन्।
यस प्रकरणमा पूर्वगृहमन्त्री रवि लामिछानेको पनि समितिले बयान लिने छ। उनी पोखरा र बुटवलका सहकारीबाट भएको अर्बौँ रुपैयाँ हिनामिना प्रकरणमा जोडिएका छन्। छानबिन समितिले यसअघि नै सहकारी ठगीमा संलग्न भएर विदेश भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिइसकेको छ।
अहिले सहकारीको अर्बौँ बचत ठगेर भागेकामध्ये सबैभन्दा चर्चित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई हुन्। उनी मलेसियामा लुकेर बसेको अनुमान छ।