मधेशका मुख्यमन्त्रीले शक्ति देखाउन खोज्दा जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीबीच हानाहान
जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले शक्ति प्रदर्शन गर्न खोज्दा आईतबार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कर्मचारीहरु बीच ठेलाठेल र हानाहान भएको छ।
निमित्त निर्देशकको हाजिरी र निवर्तमान निर्देशकको रमानाको विषयमा सुरु भएको विवाद हानाहान र ठेलाठेलको अवस्थामा पुगेको हो। प्रयोगशालामा संघका एघारौं तहका कर्मचारी डा. श्रवण मिश्र निर्देशक थिए। जनता समाजवादी पार्टी निकट मानिएका उनी १८ साउन २०७७ मा प्रयोगशालामा हाजिर भएका हुन।
उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० असारमै दरबन्दी रहेको विराटनगर स्थित कोशी अस्पतालमा काज फिर्ता जान भनेको थियो। तर, दुई पटकको सरुवा प्रयास उनले नेताहरुलाई खुसामत गरेका भरमा सहजै टारे। यसैक्रममा सतीश सिंह नेतृत्वको सरकार बन्यो।
मुख्यमन्त्री कार्यालयले २० साउनमा निर्देशक मिश्रलाई २४ घण्टाभित्र बरबुझारथ गरेर सरुवा भएको ठाउँमा जान निर्देशन दियो। मुख्यमन्त्री सिंह मिश्रलाई हटाएर आफ्नो शक्ति देखाउन चाहन्थे। उनलाई हटाएर नवौं तहका मृत्युञ्जयप्रसाद यादवलाई निमित्त निर्देशकको जिम्मेवारी तोकियो। उनी ११ फागुन २०८० मा प्रयोगशालामा हाजिर भएका हुन।
तर, ‘२४ घण्टाभित्रै बरबुझारथ गरी जानुपर्ने कानुनमा कतै उल्लेख छैन। २० दिन भित्र जान सकिन्छ’ भन्दै मिश्रले प्रयोगशाला छाडेनन्। यो विषयले विवाद बढ्न थालेको थियो। शुक्रबार मिश्र कार्यालयमा नभएको मौका पारी निमित निर्देशक मृत्युञ्जयप्रसाद यादव कार्यालयमा उपस्थित भएर हाजिर गरे।
यो कुरा थाहा पाएपछि आइतबार यादव कार्यालयमा पुग्नु अगावै डा. मिश्र पुगिसकेका थिए। उनले मूलगेटमा ताल्चा लगाउन लगाएर यादवलाई अवरोध गरे। अर्कोतर्फ मिश्र पक्षका कर्मचारीले यादवलाई निर्देशकको कार्यकक्षमा प्रवेश गर्न दिएनन्। यही विषयमा विवाद वढ्यो र दुवै पक्षका कर्मचारीहरु बीच ठेलाठेल र हानाहान भयो।
विवादले उग्ररुप लिएपछि मुख्यमन्त्री शतिकुमार सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुधनप्रसाद सिंह र सचिव डा. प्रमोद यादवलाई प्रयोगशालामा गएर विवाद समाधान गर्न निर्देशन दिए। उनीहरु पुगेर करिव ३ घण्टा छलफल गरेपछि मिश्रले यादवलाई प्रयोगशाला निर्देशकको जिम्मेवारी हस्तान्तरण गरेका छन्।
यसपछि मिश्रले भने चित्त दुखाएका छन्। दिनरात काम गरेर उदाहरणीय प्रयोगशाला बनाएको पुरस्कार पाएको भन्दै उनले प्रतिक्रिया जनाएका छन्।