जनार्दनलाई अख्तियार लगाउन चाहान्थे प्रचण्ड, बालुवाटारमै पदाधिकारीलाई बोलाएर निर्देशन
काठमाण्डौं– निकै अघिदेखि एकअर्का विरुद्ध सार्वजनिक रुपमै तितो पोख्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्मा स्थायी कमिटीको वैठकमाा आमने–सामने भएका छन्।
अध्यक्ष दाहाल र उपमहासचिव शर्माबीच केही महिनादेखि ‘शीतयुद्ध’ चलिरहेको थियो। अध्यक्ष दाहालले शर्माको जिम्मेवारी खोस्नेदेखि उनी निकटका नेताहरूलाई समेत जिम्मेवारी विहिन बनाउने खेल खेलेका थिए। त्यति मात्रैले चित्त नवुझेर दाहालले ‘जनार्दन शर्मा एमाले प्रवेश गर्दैछन’ भन्ने हल्लासमेत फैलाएका थिए।
यो सवै प्रकरणले आक्रोशित भएका नेता शर्माले स्थायी कमिटीको वैठकमा अध्यक्ष दाहालमाथि नेतृत्व छोड्न दबाब सृजना गरेका छन्। उनले १४ पन्नाको लिखित प्रश्ताव पेश गरेर दाहालले नेतृत्व हस्तान्तरण गर्नु पर्ने जनाएका छन्।
शर्माको यो प्रस्तावमा अध्यक्ष दाहालमाथि गम्भीर आरोपसमेत लगाईएको छ। दाहालमाथि शर्माले उठाएका १३ वटा प्रश्नमध्ये चौथो बुँदामा राज्यशक्तिको दुरुपयोग गरी प्रतिशोध साँध्न खोजेको आरोप छ।
माओवादी स्रोतका अनुसार आफु प्रधानमन्त्री भएपछि दाहालले शर्मालाई अख्तियार लगाएर फसाउन खोजेका थिए। उनले बालुवाटारमै अख्यितारका पदाधिकारीलाई बोलाएर शर्माविरुद्ध अनुसन्धान गर्न अघोषित सन्देश दिएको स्रोतको दावी छ।
‘जनार्दन विरुद्ध अख्तियारमा केही उजुरी छन् कि छैनन्’ भनेर उनले चासो राखेका थिए। त्यसको अर्थ कुनै न कुनै उजुरीमा उनलाई अख्तियारले प्रश्न उठाइदेओस् भन्ने दाहालको चाहना थियो। यसको जानकारी जनार्दन शर्माले पनि पाएका थिए। यही सूचनापछि दाहालमाथि शर्माले राज्यशक्तिको प्रयोग गरेर प्रतिशोध साँध्न खोजेको माओवादी स्रोतले जनाएको छ।