इटहरीमा ब्लेडले घाँटी चिरेर डेढ वर्षीया भतिजीको हत्या, काका पक्राउ
इटहरी– सुनसरीको इटहरीमा ब्लेडले घाँटी चिरेर शनिबार डेढ बर्षीया नाबालिकाको क्रूर हत्या भएको छ।
इटहरी–५, पचरुखी निवासी मनहरी ढकालको घरमा डेरा बस्ने ३० वर्षीय सालिग्राम लुइँटेलले आफनै नाबालिका भतिजी आईन्सु लुईटेलको हत्या गरेका हुन। आईन्सु सालिग्रामका दाजु नवराज लुइँटलेकी छोरी हुन।
शालिग्रामले नाबालिकाको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ। प्रहरीले घटनास्थलबाट ब्लेडसहित शालिग्रामलाई पक्राउ गरेको छ।
शालिग्राम केही वर्षअघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको र मानसिक रोगीजस्तो रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुई÷तीन वर्षअघि उनी स्वयमले पनि घरको छतबाट हामफालेर आत्महत्याको प्रयास गरेका थिए। त्यो घट्नामा परी उनको ढाड पनि भाँचिएको छ।
मृतक बालिकाका बुबा नवराज वैदेशिक रोजगारीमा छन्। शालिग्राम बुबाआमासहित, भाउजू र भतिजीसँग बस्दै आएका थिए।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ।