खुसामतमा लागेका प्रचण्डलाई समाजवादी नेताको जवाफ– सत्तामा हुँदा कसैलाई गन्नु भएन, अब कहाँबाट आयो दिव्यज्ञान ?

काठमाण्डौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट धोका पाएपछि प्रधानमन्त्री पद गुमाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अहिले पार्टीभित्र मात्र होईन, उनलाई सहयोग गरिरहेका पार्टीका नेतालाई समेत जवाफ दिँदा–दिँदा हैरान छ।

पदमा छँदा कसैलाई नगनेका दाहाल पछिल्लो समय एक्लिँदै गएको महसुस गरेर आफ्नो पार्टीदेखि नेकपा एसका नेतालाई समेत खुसामत गर्नुपर्ने अवस्थामा पुगेका छन्। प्रधानमन्त्रीबाट हटेपछि फेरी शक्ति कन्द्रित गर्ने गतिविधिमा लागेका उनले नेताहरुलाई आश्वस्त पार्न अवसर पाए पनि अव यो संसदीय कार्यकालमा प्रधानमन्त्री नबन्ने घोषणा समेत गरेका छन्।

मंगलबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रममा उनले भनेका थिए, ‘सरकारमा जाने सम्भावना भएपनि म जादिनँ, पार्टीकै अर्कै साथीलाई सरकारको नेतृत्व गर्न पठाउँछु।’ प्रधानमन्त्री नबन्ने घोषणा गर्नु पुर्ब उनले केही भावुक पृष्ठभूमि सुनाएका थिए। विशेषगरी शान्ति प्रक्रियामा आइसकेपछि संघर्ष र संविधान निर्माणको कार्यदिशा सँगसँगै तयार पार्दा पार्टी विभाजनको आधार तयार भएको रियलाइजेसन उनको थियो।

विराटनगरबाट फर्केपछि बुधबार केन्द्रीय मूख्यालय पेरिसडाडाँमा पनि दाहालले यो कार्यकाल प्रधानमन्त्री नबन्ने बताए। उनको यो घोषणाा कार्यकर्ता पंक्तिमा पार्टी बन्छ भन्ने आश्वस्त पार्नका लागि भएको एक नेता बताउँछन्।

यसअघि खुमलटारमा नेकपा एकिकृत समाजवादी पार्टीका नेताहरुलाई पनि उनले फकाउन भरपुर प्रयास गरे। तर, समाजवादी नेताहरूले दाहाललाई ‘हिजो सत्तामा हुञ्जेल त कसैलाई गन्नु भएन, अहिले कहाँबाट आयो यो दिव्यज्ञान?’ भन्दै तिरिखिरी पारेका थिए। दाहालले आफ्ना मान्छेलाई दिनसक्ने नियुक्तिसमेत दाहालले नदिएको र सबै आफैंले नै ओगटेको भन्दै उनीहरुले गुनासो गरेका थिए।

दाहालले ‘एकीकृत समाजवादीसँग त मेरो पूरै सहकार्य हुन्छ नि भन्दै कुरा अगाडि बढाउन खोजेपछि समाजवादीका एकजना नेताले ठाडै जवाफ फर्काएका थिए। ‘अस्ति भर्खरै केपी ओलीसँग मिलेर अघि बढ्न खोज्दा तपाइँले उपेन्द्र यादव र रवि लामिछानेलाई भेट्नु भो। उनीहरूसँग सम्झौता भएपछि १३८ भन्दा माथिको बहुमत जुट्दा हामीलाई खोलाले बगाउँदै ल्याएको दाउराको ठुटो झैँ छोड्नुभो । वास्ता नै गर्नु भएन’ ती नेताको भनाई उधृत गर्दै स्रोतले भन्यो–‘हामीलाई तपाईंले त्यसबेला छाडे झैँ अहिले तपाईंलाई पनि एमालेले छोडिदियो। अहिले ठिक्क भएको छ।’

‘आफू मात्रै बाठो, सबैलाई झुक्याउन सक्ने ठान्नुहुन्छ। तर तपाईंभन्दा ओली धेरै गुणा बाठो रहेछन्। उथलपुथल बनाइदिन्छु भन्नुहुन्थ्यो तर उथलपुथलमा आफैं पर्नुभो त !’ भन्दै ती नेताले झाँको झारेपछि दाहालले ‘तपाईं पनि कति पिट्नुहुन्छ? अस्ति संसदमा पनि कडागरी नै ठोक्नु भो। यहाँ पनि छोड्नुहुन्न।’ भन्दै जवाफ दिएका थिए।

समाजवादीका नेताहरुले माओवादीलाई ओलीले तीन चिरा पारेर फुटाई दिन सक्ने भन्दै सचेत रहन समेत सुझाव दिएका छन्। दाहालले नै उपेन्द्र यादवको पार्टी फुटाई दिएको स्मरण गराउँदै उनीहरुले भनेका थिए–‘ओलीले तपाईंको पार्टीलाई कम्तीमा तीन चिरा पारेर फुटाउँछन्। तपाईंले नै उपेन्द्र यादवको पार्टीलाई फुटाएको होइन? आफ्नै सरकारको सहयात्रीलाई त पार्टी फुटाएर दुःख दिनु भो भने तपाईंलाई त्यसै छोड्छन् ओलीले?’

समाजवादीका नेताहरुले विगतमा माधव नेपाललाई प्रधानमन्त्री दिनु नपरोस् भनी बाटैमा छाडेर हिँडेको घटनासमेत दाहाललाई स्मरण गराएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट