शेख हसिना नेतृत्वको पार्टीका नेताको होटलमा आगजनी, धुवाँमा निसास्सिएर २४ जनाको मृत्यु

काठमाण्डौं– बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जना जिल्ला नेताको होटलमा अज्ञात ब्यक्तिले आगजनी गरेका छन्। होटलमा आगलागी हुँदा २४ जनाको मृत्यु भएको छ।

बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनका अनुसार पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजानी भएको हो। होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर मारिएको जनाईएको छ।

ज्यान गुमाउनेमध्ये एक जना इन्डोनेसियाका नागरिक भएको बंगाली भाषाको अखबार प्रथोम आलोले जनाएको छ। जेसोर अस्पतालका डा. प्रार्थो प्रतिम चक्रवर्तीले आगजनीका कारण घाइते १५० जनाको उपचार भइरहेको बताएका छन्।

४ बजेदेखिको आगलागी ८ बजे नियन्त्रणमा आएको थियो। आरक्षणको विरोधमा भएको आन्दोलनले हिंसात्मक रुप लिएपछि शेख हसिना राजीनामा दिएर भाग्न बाध्य भएकी थिइन्। उनी सैनिक हेलिकप्टरमा भारत पसेकी छिन्। लगत्तै सत्तारुढ पार्टी अवामी लिगका नेताका घर, होटल लगायतमा भिडले आक्रमण गरेको थियो।

सतखिरामा भएको आक्रमणमा पनि १४ जना मारिएका छन्। ज्यान गुमाउनेमा ५ जना सत्तारुढ अवामी लिग पार्टीका नेताका आफन्तहरु रहेको जनाईएको छ। हसिनाले देश छोडे लगत्तै भीडले अवामी लिगका नेता जाकिर हुसेनको कल्याणपुरस्थित घरमा आक्रमण भएको थियो।

भिडले सतखिरा सदर प्रहरी चौकी, ट्राफिक प्रहरी चौकी र श्यामनगर प्रहरी चौकीमा पनि आगजनी र तोडफोड गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट