बालविवाह गरेकी देवी प्रतिभा किन लुकाउन चाहन्छिन शैलेन्द्रसँगको सम्वन्ध ?

काठमाण्डौं– ‘देवी प्रतिभा’ नामले परिचित प्रतिभा पराजुली पशुपतिमा आयोजित कोटी होममा भाग लिएर १४ दिनपछि मंगलबार भारत फर्केकी छिन्। तर, उनको चर्चा र आलोचना अझै कम भएको छैन।

काभ्रेके मण्डनदेउपुरामा जन्मिएर बाल्यकालमै वृन्दावन बस्न थालेकी उनी अहिले भारतका विभिन्न स्थानमा धार्मिक कथावाचन र प्रवचन दिँदै हिँडिरहेकी छन्। काठमाण्डौं बसाईका क्रममा उनले बहुतै चर्चा बटुलिन्। उनका कारण राधिका दासी र दीनबन्धु पोखरेल जस्ता चर्चित कथावाचक पनि छायामा परे।

वनकालीको ब्यासबाट कथा वाचन गरिरहँदा उनले विवाहित महिलाबारे गरेको टिप्पणीका कारण भने आलोचना भोग्नुप¥यो। हिन्दु र सनातन संस्कृतिमा ‘डिभोर्स’भन्ने शब्द नै नभएकाले पति जति नै खराब भए पनि महिलाले सहेर बस्नुपर्ने आशयसहित उनले दिएको अभिव्यक्तिको कडा आलोचना भएको छ।

‘सनातन धर्ममा, संस्कृत भाषामा डिभोर्स भन्ने शब्द नै छैन। त्यसैले महिलाले विवाह गरेपछि पुरुष आफूभन्दा २० वर्ष नै बुढो भए पनि, एउटै गुण नभए पनि र एक पैसा नकमाउने भए पनि उसलाई छाड्न हुँदैन। विवाहपश्चात् पतिको आदेशलाई लिएर हर कार्य गर्नुपर्छ र महिला पतिव्रता हुनुपर्छ’, उनले भनेकी छन्, ‘पतिको आयुका लागि महिलाले तिजको व्रतमा पानी पनि नखाई बस्नुपर्छ । यो नै पतिव्रताको लक्षण हो ।’

तर, उनले मण्डपमा आफूसँगै डिभोर्स गरेपछि कथा वाचनमा लागेकी राधिका दासी रहेको पनि ख्याल गरिनन्। उनले अझै एक कदम अघि बढेर ‘पतिव्रता धर्म’ पालना गरिरहँदा आफ्नै काखको दुधेबालक आगोमा परे पनि बेवास्ता गर्नुपर्छ भनेकी थिइन्।

कतिपयले पुराणमा लेखिएका कुरालाई लिएर उनले ठीकै भनेको बताएका छन् भने कतिपयले भने वर्तमान नेपाली समाजका लागि उनको भनाइ अपाच्य हुने बताएका छन्। देवी प्रतिभाको अभिव्यक्तिलाई लिएर समाजशास्त्री निर्मला ढकाल ढोंगको संज्ञा दिन्छिन् ।

अर्को तर्फ उनले लुकाउन खोजेको विवाह प्रसंग पनि अहिले चर्चाको विषय भएको छ। उनलाई धेरैले अविवाहित सम्झिएका छन् भने उनले पनि अहिलेसम्म आफूलाई अविवाहितरूपमा नै पेश गर्दै आएकी छिन्।

तर, यथार्थमा भने देवी प्रतिभा विवाहित रहेको खुलेको छ। उनका श्रीमान भारतको उत्तर प्रदेशका शैलेन्द्र नन्द हुन। उनी बाल प्रभूजी महाराज नामले चिनिन्छन्। शैलेन्द्र पनि कथावाचक हुन्। उनीहरू दुवैले एकैसाथ कथावाचनको प्रशिक्षण लिएका हुन। देवी प्रतिभाले १६ वर्षकै उमेरमा बालविवाह गरेको पनि खुलेको छ।

देवी प्रतिभाले सञ्चालन गर्ने भनिएको राष्ट्र सेवा परिवारमा शैलेन्द्र अध्यक्ष छन्। तर, प्रतिभाले वैवाहिक अवस्थालाई लुकाइरहेकी छिन्। देवी प्रतिभा नेपालमै जन्मिएकी भए पनि यसअघि त्यति चर्चामा आएकी थिइनन्। तर उनको यस पटकको नेपाल आगमनले उनलाई चर्चाको शिखरमा पुर्याएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट