‘असफल सैन्य शासन’को जिम्मेवारी लिदै राजिनामा दिएका दक्षिण कोरियाका पूर्वमन्त्रीद्वारा आत्महत्याको प्रयास
काठमाडौँ– दक्षिण कोरियामा गत साता राष्ट्रपतिले गरेको सैन्य शासन घोषणाका लागि जिम्मेवारी लिँदै पदत्याग गरे लगत्तै पक्राउ परेका तात्कालिक रक्षामन्त्री किम योङ–ह्युनले हिरासतमै आत्महत्याको प्रयास गरेका छन्। तर, उनको प्रयास भने असफल भएको छ।
त्यहाँको न्याय मन्त्रालयअन्तर्गत रहेको कारागार हेर्ने निकायका प्रमुखले संसद्लाई दिएको जानकारी अनुसार पूर्वमन्त्रीले मङ्गलवार राति आत्महत्या गर्न खोजेका थिए। किमलाई अनुसन्धानका लागि आइतवार पक्राउ गरिएको थियो।
दक्षिण कोरियामा ‘विद्रोह गरेको’ अभियोगमा राष्ट्रपति र उनका सहयोगीहरूविरुद्ध छानबिन चलिरहेको छ। तीमध्ये किम पनि एक हुन्। राष्ट्रपतिसहित केही वरिष्ठ अधिकारीहरूलाई यात्रा गर्न प्रतिबन्ध लगाईएको छ।
राष्ट्रपति यून सुक यउलले सैन्य शासन लागु गरेका थिए। तर, संसद्को हस्तक्षेप र सर्वत्र विरोध भएपछि एक दिन पनि नबिती सैन्य शासन लागु गर्ने आफ्नो घोषणा राष्ट्रपतिले फिर्ता लिनु परेको थियो। त्यसपछि रक्षामन्त्री र राष्ट्रपति कार्यालयका वरिष्ठ कर्मचारीले राजीनामा दिएका थिए।
राष्ट्रपति यूनले सैन्य शासन घोषणा गर्ने आफ्नो कदमका लागि क्षमायाचना गरेका छन्। संसद्मा उनीविरुद्ध प्रस्तुत महाभियोगको प्रस्ताव विफल भएको छ। तर, उनकै दलभित्रबाट पनि राष्ट्रपतिको राजीनामा माग हुँदै आएको छ भने विपक्षी दलले उनीविरुद्ध फेरि महाभियोग अगाडि बढाउने तयारी गरेको छ।
यसैबीच, प्रहरीले राष्ट्रपतिको कार्यालयमा छापा मारेको छ। यस विषयमा राष्ट्रपतिको सुरक्षार्थ खटेको टोलीलाई समेत जानकारी दिइएको थिएन। बुधवार छापा मार्न १८ अनुसन्धानकर्ता राष्ट्रपतिको कार्यालय गएका थिए। उनीहरूले गत मङ्गलवार राति सैन्य शासन घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णयसँग सम्बन्धित अभिलेख आफ्नो नियन्त्रणमा लिएका छन्। प्रहरीले छापा मार्दा उनी आफ्नो कार्यालयमा थिएनन्।
राष्ट्रपतिको दल पीपल्स् पावर पार्टीका प्रमुख हान दोङ–हूनका अनुसार यून पदमुक्त हुने व्यवस्था गर्ने र पदमा हुन्जेल उनी कुनै राजकीय कार्यमा संलग्न हुने छैनन्। प्रधानमन्त्री हान दुक–सूले अहिलेका लागि सरकारी कामकारबाही गर्ने उनको भनाइ छ।