स्रोत नखुलेको आधा करोड नगदसहित हुण्डी कारोवारी अग्रवाल पक्राउ
विराटनगर– नेपाल अवैद्य रहेको हुण्डी कारोवारमा संलग्न भएको आरोपमा मोरङको रंगेली नगरपालिका–८, दर्वेसाका ज्योतिदेवी अग्रवाल झण्डै आधा करोड स्रोत नखुलेको नगदसहित पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा प्रहरी छापामारी गरेर ४७ लाख ४९ हजार नगदसहित अग्रवाललाई पक्राउ गरेको हो। मोरङ प्रहरीका एसपी नारायणप्रसाद चिमरियाका अनुसार इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले अग्रवालको घरमा छापा मारेको थियो।
उनका अनुसार १ तले घरको दक्षिण–पश्चिमतर्फको कोठामा चाबी लगाएर राखिएको अवस्थामा टिनको बाकसभित्र रकम फेला परेको हो। जसमा १ हजार र ५ सय दरका नोट छन्।
अग्रवाललाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ। स्रोत नखुलेको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ। यस विषयमा थप अनुसन्धान भइरहेको एसपी चिमरियाले बताए।
प्रतिक्रिया