बलात्कार गर्न नसकेपछि छिमेकी किशोरीको हत्या गर्ने शिक्षक पक्राउ, गोबर र माटो मुखमा कोचेर मारेको स्विकार
काठमाडौँ– गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ की १८ वर्षीया सुचिना घले गत १५ मंसिरमा वेपत्ता भईन। घाँस काट्न भनेर मैखर्क जंगल गएपछि फर्केर नआएपछि परिवार र छिमेकीले उनको खोजी गरे।
फेला पार्न नसकेपछि बारपाक प्रहरी चौकी र इलाका प्रहरी कार्यालय जौबारीमा खवर गरे। प्रहरीसहित लगातार तीन दिनको खोजीपछि खाल्टो खनेर गाडेको अवस्थामा १८ मंसिरमा उनको शव फेला प¥यो।
प्रहरीले पहिलो नजरमै सूचिनाको हत्या भएको अनुमानसहित अनुशन्धान सुरु गर्यो। सूचिनाको टाउकोमा धारिलो हतियारले काटेको चोट थियो, दाँया हातको दुईवटा औंला काटिएका थिए। शव गाडिएको ठाउँ नजिकै सूचिनाको चप्पल, हँसिया र डोको फेला प¥यो। कम्मर नजिकैको भागमा पछ्यौरी र ज्याकेट खोलिएको थियो। नाम्लो कम्मरको भागमा खुकुलो गरि बेरिएको थियो।
शव गाडिएको स्थानदेखि करिब ३० मिटर पर अर्को डोको र डोकोभित्र घाँस र रातो उनीको टोपी थियो। त्यसको करिब एक सय मिटर तल निगालाको बोटमा केही रगत देखियो। नजिकै कम्ब्याट क्याप, लेबन्टि र कपालको गुजुल्टो फेला प¥यो।
यो सवै प्रमाणका आधारमा प्रहरी सुचिनाको बलात्कार प्रयास र हत्या अभियोगमा बारपाक सुलिकोट १ कै ४३ वर्षीय मनशमजेर गुरूङलाई पक्राउ गरेको छ। अनुशन्धानका क्रममा प्रहरीले घाँस काट्न जाने मानिसदेखि गोठालाहरूसमेतलाई सोधपुछ गर्यो।
शंकास्पद ब्यक्तिलाई प्रहरी कार्यालयमै बोलाउन थाल्यो। सोही क्रममा २२ मंसिरमा मनशम्जेरलाई पनि बोलाएर सोधपुछ गर्यो। उनले घट्नामा आफनो संलग्नता अस्विकार गरे। त्यसपछि प्रहरीले उनलाई तारेखमा छाडेर निगरानी गर्न थाल्यो। २४ मंसिरमा पनि प्रहरीले बोलाएर सोधपुछ गर्यो। त्यतिबेला भने उनले हत्या आफुले नै गरेको स्विकार गरे।
प्रहरीका अनुसार सुचिना घाँस काट्न हिडेपछि स्थानीय एक निजि विद्यालयमा पढाउने शिक्षकसमेत रहेका गुरुङ पिछा गर्दै गएको देखिएको छ। उनले बलात्कार गर्न खोजेको र प्रतिकार भएपछि हत्या गरेको प्रारम्भिक अनुशन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बासुदेव पाठकले वताए।
‘सुचिना अघिअघि र गुरुङ पछिपछि गएको र जंगलमा एकै ठाउँमा पुगेको देखिन्छ। त्यसबेला अभियुक्तको मनमा पाप पलाउँछ’ एसपी पाठकले भने,‘अनुरोध गर्छन्, नमानेपछि जबरजती गर्न खोज्छन्। तर सुचिनाले प्रतिवाद गर्दै हतियार प्रहार गर्छिन्। अभियुक्तको हातमा चोट लागेको छ।’
जबरजस्ती गर्ने क्रममा पटक–पटक चिच्याएपछि फसिएला भनेर गुरुङले घलेको हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई लडाएर घाँस र गोबर मिसिएको माटो मुखमा कोचिदिएको र मरेपछि शव व्यवस्थापन गरेको गुरुङले स्विकारेका छन्।
प्रहरीका अनुसार सूचिना र मनशम्जेर छिमेकी भएपनि उनीहरूबीच चिनजान थिएन। धार्चे गाउँपालिका–६ काशिगाउँकी सूचिनाको बारपाकका धनबहादुर गुरुङसँग गत वैशाखमा मात्र विवाह भएको थियो। त्यसपछि काठमाडौँ बस्दै आएका उनीहरू ३ महिना अघिमात्रै गाउँ फर्किएका थिए।
सूचिनाको हत्यापछि मनशमजेरले २ पटक आत्महत्याको प्रयाससमेत गरेको खुलेको छ। पक्राउ पर्नुअघि उनले लेखेर दराजमा छोडेको कागजबाट सवै कुरा खुलेको हो। ‘घर खानतलासी गर्दा उनको कोठाको दराजमा ‘मेरो बयान’ शीर्षकमा लेखिएको पत्र भेटियो। जसमा आफूबाट निर्दोष नारीको ज्यान गएको व्यहोरा उल्लेख छ’ एसपी पाठकले भने–‘पत्रमा उनले आफ्नो नाम लेखेर हस्ताक्षर र औंठा छाप समेत लगाएका छन्।’