उदयपुरमा ब्रेक फेल भएर जिप दुर्घटना हुँदा चालकको मृत्यु, ५ जना घाईते
गाईघाट– उदयपुरमा सदरमुकामबाट ग्रामिण इलाका जाँदै गरेको जिप आज दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।
सदरमुकाम गाईघाटबाट लिम्चुङबुङ जाँदै गरेको बा.१च ३२६७ नम्बरको जिप लिम्चुङबुङ गाउँपालिका– ३ कै तीनचोकेमा दुर्घटना भएको हो। जिप दुर्घटनामा परी चालक त्रियुगा नगरपालिका–१६ का २६ वर्षीय युवराज तामाङको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईंका अनुसार लिम्चुङबुङ– ३ का १९ वर्षीया सुस्मिता खत्री, पाँच वर्षीया बालिका सुबिमा खत्री, ४१ वर्षीया नीललक्ष्मी राई, ६२ वर्षीया चरिमाया राई र लिम्चुङबुङ–४ थाप्राङका ४७ वर्षीय बलदीप राई घाईते छन्।
घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको जिप सडकबाट झन्डै ४ सय मिटर तल खसेको डीएसपी चापागाईँले बताए। ब्रेक फेल भएर जिप दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुमान छ।