डाक्टरले मृत घोषणा गरेका युवक आगो लगाउने तयारी गरिरहेका वेला चिताबाट उठेपछि…
काठमाडौँ– भारतको पश्चिमी राज्य राजस्थान पत्याउनै गाह्रो पर्ने एउटा घट्ना घटेको छ। चिकित्सकले मृत घोषणा गरेर चितामा पु¥याएका एक २५ वर्षीय युवक आगो लगाउने तयारी गरेपछि चिताबाट उठेका छन्। यो घट्नापछि उनलाई मृत घोषणा गर्ने ३ जना डाक्टरलाई सरकारले निलम्बन गरेको छ।
भारतीय सञ्चार माद्यमका अनुसार बोल्न र सुन्न समस्या भएका राजस्थानको झुनझुनुका २५ वर्षीय रोहितास कुमार विरामी परेपछि बिहीबार जिल्ला अस्पतालमा पु¥याईएको थियो। उनको उपचार नगरीकनै मृत घोषणा गरियो र उनलाई मृतकहरू राख्ने कक्षमा पठाइयो।
अस्पतालले उनको पोस्टमार्टम गरेन। परिवारजनले उनको हिन्दु संस्कारअनुसार अन्त्येष्टिको तयारी गरे। उनलाई चितामा लडाईयो। आगो लगाउने तयारी भइरहँदा उनी ब्युँझिए। मलामीले जीवित रहेको र सास फेरिरहेको पाएपछि उनलाई पुनः अस्पताल लगे।
उपचारको क्रममा शुक्रबार उनको साँच्चै मृत्यु भयो। यो घटनापछि अस्पतालको सेवा केही समयका लागि बन्द गरिएको थियो। समाचार अनुसार उनलाई छारेरोग (मिर्गी)को समस्या देखिएको रहेछ। अस्पतालका प्रमुख मेडिकल अफिसर डी सिंहले भनेका छन््–‘एक जना चिकित्सकले पोस्टमार्टम नगरी पोस्टमार्टम रिपोर्ट तयार पारेको र त्यसपछि शवलाई दाहसंस्कारका लागि पठाइएको खुलेको छ।’
झुन्झुनुका एसपी शरद चौधरीले युवकको पोस्टमार्टम गर्नुपर्नेमा चिकित्सकले कागजी औपचारिकता मात्र पूरा गरेर दाहसंस्कार गर्न पठाएको बताए। उनले भने–‘स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल लगिएको थियो। आफन्त कोही थिएनन्। चिकित्सकले युवकको पोस्टमार्टम गर्नुपर्ने थियो तर केही गरेनन्।’
जिल्ला अधिकारी रामावतार मीनाका अनुसार अस्पतालका यो घटनामा संलग्न चिकित्सक योगेश झाखार, नवनीत मील र सन्दीप प्रचारलाई निलम्बन गरिएको छ।