अमेरिकामा ४ जना नेपाली चढेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु, चालक पक्राउ
काठमाडौँ– अमेरिकामा ४ जना नेपाली चढेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक स्थानीय समयअनुसार २२ नोभेम्बरको मध्यराति १२ बजे कार दुर्घटना भएको हो। अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमले उल्लेख गरेको छ।
मृत्यु हुने रुकुमको आठबिसकोट नगरपालिका–७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी हुन। कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते छन्। उनको उपचार भइरहेको छ। कार चालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन्। उनलाई प्रहरीले पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ। दुई जनाको हत्या अभियोगमा चालकलाई मुद्दा चलाउने तयारी भइरहेको जनाईएको छ।
अत्यधिक मादक पदार्थ सेवन गरी कार चलाएको बेला दुर्घटना भएको आशङ्का प्रहरीले पनि गरेको छ। अत्यधिक गतिमा चलाइएको उक्त कार नियन्त्रण गुमेपछि सडकबाट बाहिर पुगी रुखहरूमा ठोक्किएर दुर्घटना भएको प्रहरीले स्थानीय प्रत्यक्षदर्शी बासिन्दालाई उध्रित गर्दै बताएको छ।