सूचना माग गरेर वेथितिको पर्दाफास गर्दा पत्रकार भुलको हत्या भएको अध्ययन टोलीको निष्कर्ष
काठमाडौँ– राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष एवं संविधानसभा सदस्य विनोद पहाडीको संयोजकत्वमा गठित अध्ययन टोलीले कैलालीका पत्रकार सुरेश भुलको हत्या ‘सूचना माग गरेर भण्डाफोर गरेकै’ भएको निस्कर्ष निकालेको छ।
टोलीले पत्रकार सम्मेलन गरी सुरेशमाथिको आक्रमण सुनियोजित भएको जनाएको छ। दलित समुदायको भएकाले दलितलाई नै प्रयोग गरेर उनीमाथि आक्रमण भएको पहाडीले बताएका छन्। बाख्रा चोरीको आरोप बहानामात्रै हो भन्ने प्रत्यक्षदर्शीको भनाइले पुष्टि गरेको भन्दै उनले घटनामा इलाका प्रहरी कार्यालय मसुरिया र जनप्रतिनिधि संवेदनशील नदेखिएको प्रतिवेदनको निचोड सुनाए।
अध्ययन टोलीले घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै ५ बुँदामा सुझाव पनि दिएको छ। जसमा मृतकका परिवारलाई राहत र क्षतिपूर्ति, प्रहरी कर्मचारी ज्ञानेन्द्र देउवा र देवेन्द्र कठायतले घटनाको संवेदनशिलता बेवास्ता गरेकाले उनीहरूको भूमिकामा छानबिन, परिवारको भरणपोषण र नाबालक छोरीको अध्ययन तथा रोजगारको सुनिश्चितताका लागि आग्रह गरिएको छ।
घट्नामा संलग्न भएका मध्ये ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। जसमा गौरीगंगा नगरपालिका ११ का ५५ वर्षका जंगबहादुर भुल, २८ वर्षका विशाल विक, ३१ वर्षका दिनेश विक, १९ वर्षका दिनेश भुल, ४५ वर्षका विष्णा भुल, ३८ वर्षका रमा रावल र ३१ वर्षका धर्मसिंह विक छन्।
पीडित परिवारले किटानी जाहेरी अनुसार एक जना अझै फरार छन्। जाहेरीमा नाम भएका गौरीगंगा नगरपालिका ९ का ४० वर्षीय पवन बोगटीलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। रमेश रावललाई समेत प्रहरीले पक्राउ गरेको छ। तर, उनको नाम किटानी जाहेरीमा छैन।
पत्रकार भुलले विशेष गरी स्थानीय तह र अन्य विभिन्न कार्यालयमा गएर सूचना माग्ने र गलत क्रियाकलाप विरुद्ध खवरदारी गर्ने गरेका थिए। कतिपयले उनलाई धम्की समेत दिने गरेको खुलेको छ।